लन्डन– बेलायतको प्रमुख विपक्षी दल कन्जरभेटिभ पार्टी अन्तर्गतको फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्षमा नेपाली मूलका इन्द्रहाङ लिङ्देन पुनः निर्विरोध निर्वाचित भएका छन्।
गतसाता सम्पन्न क्षेत्रीय अधिवेशनले लिङ्देनलाई आगामी एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। यससँगै उनले लगातार दोस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्ने भएका छन्।
अध्यक्षमा पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लिङ्देनले आफ्नो पहिलो कार्यकाल उपलब्धिमूलक रहेको बताए। उनका अनुसार हालै सम्पन्न स्थानीय निर्वाचनमा देशभर कन्जरभेटिभ पार्टीको नतिजा अपेक्षाअनुसार नभए पनि आफूले नेतृत्व गरेको हन्सलो बरोमा पार्टीले पहिलोपटक ९ वटा सिट जित्न सफल भएको थियो।
फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रीय अध्यक्षका रूपमा लिङ्देनले क्षेत्रअन्तर्गत रहेका ९ वटा वार्डको पार्टी संगठनको नेतृत्व गर्नेछन्। साथै, ती वार्डबाट निर्वाचित हुने २६ जना काउन्सिलरका लागि पार्टीका उम्मेदवार छनोट गर्ने जिम्मेवारी पनि उनकै नेतृत्वमा रहनेछ।
त्यस्तै, हन्सलो बरोका ६२ जना काउन्सिलरका उम्मेदवार छनोट गर्ने प्यानलका सदस्यका रूपमा पनि उनले भूमिका निर्वाह गर्नेछन्। यसबाहेक, फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ पार्टीको संसदीय उम्मेदवार चयन प्रक्रियामा पनि अध्यक्षका रूपमा उनको महत्वपूर्ण भूमिका रहनेछ।
ताप्लेजुङ पुर्ख्यौली घर भई हाल झापासँग पारिवारिक सम्बन्ध रहेका लिङ्देन सन् २०१२ मा उच्च शिक्षाका लागि बेलायत पुगेका थिए। नेपालमा एमबीएसम्मको अध्ययन पूरा गरेका उनले बेलायतमा एमबीए पनि सम्पन्न गरेका छन्। हाल उनी ब्रुनेल विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एन्ड एन्ट्रपेनरसिप विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन्।
लिङ्देन सन् २०१८ देखि बेलायती राजनीतिमा सक्रिय छन्। यसअघि उनले सन् २०२०–२०२१ मा फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रीय कमिटीको डेपुटी चेयरका रूपमा जिम्मेवारी सम्हालेका थिए।
सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय लिङ्देन बेलायतस्थित नेपाली कांग्रेसको जनसम्पर्क समिति (यूके) मा पनि लामो समयदेखि आबद्ध छन्। उनी हाल समितिका निर्वाचित महामन्त्रीसमेत हुन्।