नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद ४४औँ वीपी जयन्तीकै दिन सार्वजनिक रूपमा छताछुल्ल भएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा निकट नेताहरूले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै एकअर्काप्रति असन्तुष्टि पोखेका छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देउवा पक्षका नेताहरूले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। उनीहरूले पार्टी नेतृत्वले संवाद र सहमतिका लागि पहल नगरे नयाँ राजनीतिक बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
कार्यक्रममा नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनपछि कांग्रेस व्यवहारतः विभाजित भइसकेको दाबी गर्दै नेतृत्वमाथि पार्टी कब्जा गरेको आरोप लगाए। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, विमलेन्द्र निधिलगायतले पनि पार्टी एकताको जिम्मेवारी सभापति गगन थापाले लिनुपर्ने बताएका छन्।
देउवा पक्षको कार्यक्रममा पूर्वपदाधिकारी र शीर्ष नेताहरू एउटै मञ्चमा देखिनुलाई विशेष अर्थका साथ हेरिएको छ। विशेष महाधिवेशनपछि अलग–अलग देखिँदै आएका देउवा र शेखर पक्ष पहिलोपटक एउटै राजनीतिक लाइनमा उभिएको सन्देश कार्यक्रमले दिएको नेताहरूको भनाइ छ।
उता संस्थापन पक्षले वीपी जयन्तीका अवसरमा दुईदिने कार्यक्रम सुरु गरेको छ। पहिलो दिन ‘ग्रीन रन’ आयोजना गरिएको छ भने दोस्रो दिन वीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनीतिक विषयमा केन्द्रित कार्यक्रम राखिएको छ।
विशेष महाधिवेशनपछि नेतृत्वको वैधानिकता, संगठन सञ्चालन र आगामी १५औँ महाधिवेशनको तयारीलाई लिएर कांग्रेसभित्र देखिएको विवाद अझै समाधान हुन सकेको छैन। केही दिनअघि संवादमार्फत सहमतिको प्रयास भएको भए पनि वीपी जयन्तीमा भएका छुट्टाछुट्टै कार्यक्रमले दुई पक्षबीचको दूरी अझै कायमै रहेको संकेत गरेका छन्।
अब कांग्रेसभित्रको राजनीतिक ध्यान साउन २९ गते हुने राष्ट्रिय भेलातर्फ केन्द्रित भएको छ। त्यसअघि संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसके पार्टीको आन्तरिक विवाद नयाँ मोडमा पुग्ने सम्भावना बढेको छ।