प्रतिनिधिसभाको चालु कार्यकालमा शीर्ष राजनीतिक नेताहरूको संसदीय उपस्थिति कमजोर देखिएको छ। संघीय संसद् सचिवालयको तथ्यांकअनुसार हालसम्म बसेका ४१ वटा बैठकमध्ये पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र पाँच बैठकमा उपस्थित भएका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ६ बैठकमा सहभागी भएका छन्।
सचिवालयका अनुसार पहिलो र दोस्रो अधिवेशन गरी हालसम्म प्रतिनिधिसभाको बैठक ४१ पटक बसेको छ। तर संसद्मा सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति अपेक्षाकृत न्यून देखिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे ३५ बैठकमा उपस्थित हुँदा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ २४ बैठकमा सहभागी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २१ बैठकमा मात्रै उपस्थित भएका छन्।
मन्त्रीहरूको उपस्थिति पनि सन्तोषजनक देखिएको छैन। ऊर्जा, शिक्षा, परराष्ट्रलगायतका केही मन्त्रीहरू १० बैठकभन्दा कममा मात्रै सहभागी भएका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ३० बैठकमा उपस्थित भएर सबैभन्दा सक्रिय मन्त्रीमध्ये एक देखिएका छन्।
संसदीय अभ्यासका जानकारहरूले संसद् सरकारलाई जवाफदेही बनाउने सर्वोच्च थलो भएकाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूको नियमित उपस्थिति लोकतान्त्रिक उत्तरदायित्वसँग जोडिएको बताउँछन्। तर प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
पूर्वसांसद हृदयेश त्रिपाठी र संसदीय अध्येता जगत नेपालले संसद्प्रतिको कमजोर उपस्थितिले राजनीतिक उत्तरदायित्व र संसदीय संस्कृतिमाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूका अनुसार संसद्मा नियमित उपस्थित हुनु प्रधानमन्त्री, मन्त्री र सांसदहरूको संवैधानिक तथा नैतिक दायित्व हो।