लन्डनमा हुने १७औं नेपाली मेलाको तयारी तीव्र, दूतावाससँग समन्वयबारे छलफल

  • प्रकाशित मिति : २०८३ श्रावण १०, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन। आगामी अगस्ट ३० तारिख आइतबार लन्डनमा आयोजना हुने १७औं नेपाली मेलाको तयारीलाई अन्तिम चरणमा पुर्‍याउने उद्देश्यसहित आयोजक संस्था तमुधिं यूके र नेपाली दूतावास, लन्डनबीच शुक्रबार छलफल भएको छ।

दूतावासमा आयोजित बैठकमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको टोली र कार्यवाहक राजदूत विपिन दुवाडीसहित दूतावासका पदाधिकारीबीच मेलाको तयारी, व्यवस्थापन र सहकार्यका विभिन्न पक्षमा विस्तृत छलफल भएको हो।



कार्यक्रममा मेला संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष कमल कोने गुरुङले पावरपोइन्ट प्रस्तुतीमार्फत हालसम्म भएका तयारी, आगामी कार्ययोजना तथा व्यवस्थापनका पक्षबारे जानकारी गराए। उनले तमुधिं यूकेको स्थापना, संस्थाले सञ्चालन गर्दै आएका गतिविधि तथा नेपाली मेलाको विगतदेखि वर्तमानसम्मको यात्राबारे पनि प्रस्तुति दिएका थिए।

अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला सफल बनाउन तमुधिं यूके र नेपाली दूतावासबीच लामो समयदेखि कायम रहेको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले मेलालाई प्रत्येक वर्ष थप व्यवस्थित, फराकिलो र प्रभावकारी बनाउने लक्ष्यका साथ काम भइरहेको उल्लेख गर्दै दूतावासबाट निरन्तर सहयोग, समन्वय र मार्गदर्शनको अपेक्षा रहेको बताए।

कार्यवाहक राजदूत विपिन दुवाडीले मेलाको सफल आयोजनाका लागि दूतावासको सक्रिय सहभागिता रहने प्रतिबद्धता जनाए। दूतावास सहआयोजकका रूपमा अतिथिको भूमिकामा नभई आयोजककै जिम्मेवारीका साथ मेलामा सहभागी हुने उनले स्पष्ट पारे।

दुवाडीले नेपाली समुदायसँगै बेलायती तथा अन्य गैरनेपाली समुदायको सहभागिता बढाउनेतर्फ पनि यस वर्ष विशेष प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि मेलालाई अझ प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिनेछ।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। बैठकमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षद्वय ज्ञाम गुरुङ र हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङसहित संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।

तमुधिं यूकेले नेपाली दूतावासको सहकार्यमा सन् २००९ देखि हरेक वर्ष नेपाली मेला आयोजना गर्दै आएको छ। यस वर्ष मेलाको १७औं संस्करण आयोजना हुन लागेको हो।

मेलामा उत्कृष्ट सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति गर्ने टोलीलाई दूतावासको प्रायोजनमा प्रदान गरिने एम्बासडर कपको पुरस्कार राशि यस वर्ष १,१०० पाउण्डबाट बढाएर १,५०० पाउण्ड पुर्‍याइएको छ। त्यसैगरी एनआरएनए कपको पुरस्कार राशि ३०० पाउण्डबाट बढाएर ५०० पाउण्ड बनाइएको आयोजकले जनाएको छ।

यस वर्षको मेलामा करिब चार दर्जन नेपाली संघसंस्था तथा समुदायका सांस्कृतिक टोलीले विविध झाँकी र सांस्कृतिक प्रस्तुति गर्नेछन्। साथै नेपाली परिकार, हस्तकला, लत्ताकपडा, व्यापार, व्यवसाय तथा विभिन्न सेवासम्बन्धी एक सयभन्दा बढी स्टल रहने आयोजकको तयारी छ।