पासपोर्ट प्रकरणमा मुछिएपछि बालेन टिमबाट ‘माधव खनाल’ आउट !

  • प्रकाशित मिति : २०८३ श्रावण ११, सोमबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। डेढ महिनाअघि भएको पासपोर्ट प्रकरणमा देखिएको उनको भूमिका, त्यसपछिका गतिविधि र समग्र कार्यशैलीबारे उठेका प्रश्नपछि उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खनाललाई सचिवालयमा निरन्तर राख्दा प्रधानमन्त्रीको टिमको छविमा नकारात्मक असर पर्ने निष्कर्षमा टोली पुगेपछि उनलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हो।



‘उहाँलाई टिममा राख्दा समग्र सचिवालयकै छविमा असर पर्ने सामूहिक निष्कर्ष थियो। त्यसपछि बोलाएर सम्झाउने र जिम्मेवारीबाट अलग गरिएको पत्र दिने सुझावमा प्रधानमन्त्री पनि सहमत हुनुभयो,’ प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतले जनाएको छ।

सिंहदरबार स्रोतका अनुसार गत असार १ गते राहदानी विभागमा भएको पासपोर्ट प्रकरणपछि खनालको भूमिकामाथि प्रश्न उठेको थियो। उक्त घटनाका क्रममा उनले राहदानी विभागका अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग चर्को र आक्रामक व्यवहार गरेको आरोप लागेको थियो।

स्रोतका अनुसार उक्त घटनाअघि र त्यसपछि पनि खनालको आचरण र कार्यशैलीबारे प्रधानमन्त्री कार्यालयमा विभिन्न गुनासा र उजुरी परेका थिए। ती विषयको समीक्षा गरेपछि उनलाई सचिवालयबाट बिदा गर्ने निर्णय गरिएको हो।

प्रधानमन्त्री कार्यालयले खनाललाई जिम्मेवारीबाट अलग गरिएको पत्र दिने प्रक्रिया पनि अघि बढाइसकेको स्रोतको दाबी छ। यद्यपि यसबारे प्रधानमन्त्री कार्यालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।