एलपी ग्यास उद्योग संघको आग्रह– ‘आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नगर्नुहोस्’

  • प्रकाशित मिति : २०८३ श्रावण १२, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर जगेडा नगर्न आग्रह गरेको छ।

ग्यासको आयात र आपूर्ति नियमित रहे पनि उपभोक्ताले एकैपटक जगेडाका सिलिन्डर भर्न ल्याउँदा बजारमा अस्थायी अभाव देखिएको संघले जनाएको छ।



संघका अध्यक्ष दिवान चन्दले भारतबाट आउने ग्यासको परिमाणमा कुनै कमी नआएको दाबी गरे। उनका अनुसार विगतकै हाराहारीमा दैनिक करिब सय बुलेट ग्यास आयात भइरहेको छ।

‘पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामीले वितरण गर्थ्यौँ, अहिले पनि त्यही परिमाणमा आपूर्ति भइरहेको छ,’ चन्दले भने।

उपभोक्ताले थप अभाव हुने डरले ग्यास जगेडा गर्न थालेपछि बजारमा समस्या देखिएको उनको भनाइ छ। ‘उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुन्छ,’ उनले भने।

संघका सदस्य विमल कालाखेतीले पनि सामान्य अवस्थाअनुसार आवश्यक पर्ने परिमाणमै ग्यास आपूर्ति भइरहेको बताए। आफूहरूले यसअघि नै सिलिन्डर पूरा भरेर वितरण गर्न सुझाव दिएको भए पनि ढिलाइ हुँदा अहिले समस्या देखिएको उनको भनाइ छ।

हाल नेपालमा करिब १ करोड ५० लाख थान ग्यास सिलिन्डर रहेको संघले जनाएको छ। त्यसमध्ये करिब ५० लाख सिलिन्डर ग्यास डिपोमा रहेको बताइएको छ।

सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।