लन्डन । बेलायतको मेडस्टोनमा राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाइएको छ। बगाले थापा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा भीमसेन थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बगाले थापा समुदायको वार्षिक भेटघाट कार्यक्रम पनि सम्पन्न भएको हो।
कार्यक्रममा करिब पाँच दर्जन बगाले थापा समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। एकादशी व्रत परेकाले अपेक्षाभन्दा केही कम सहभागिता भए पनि कार्यक्रम भव्य र गरिमामय रूपमा सम्पन्न भएको जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि बगाले थापा क्षत्री समाज नेपालका संस्थापक तथा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष इन्जिनियर कृष्णबहादुर थापा रहेका थिए। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी थापासँगै उनकी श्रीमती आरती थापा र नाति सायन थापाको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
सहभागीहरूले राष्ट्रिय विभूति भीमसेन थापाको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालको स्वाभिमान, राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षणमा भीमसेन थापाले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनको साहस, दूरदर्शिता, राष्ट्रप्रेम र नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
कार्यक्रमसँगै आयोजित वार्षिक भेटघाटमा सहभागीहरूले आपसी परिचय, अनुभव आदान–प्रदान तथा पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पाएको बताएका थिए। यस्ता कार्यक्रमले विदेशमा रहेका बगाले थापा समुदायबीच एकता, सद्भाव र सहकार्यको भावना थप बलियो बनाउने विश्वास उनीहरूले व्यक्त गरे।
कार्यक्रमको समापनमा सम्पूर्ण बगाले थापा परिवारको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै राष्ट्रिय विभूति भीमसेन थापाप्रति उच्च सम्मान प्रकट गरिएको थियो।