सुनसरीका ९ स्थानीय तहमा मंगलबार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रशासनका अनुसार धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र इटहरी उपमहानगरपालिकाका १८ वटा वडा बाहेक जिल्लाका अन्य क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु आदेश इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ।
देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडप, आगजनी र तनाव बढेपछि शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ। स्थानीयलाई कर्फ्युको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।