प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय दिलाउने, घाइतेको उपचार गराउने र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि घटनाबाट मर्माहत भएको बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले सरकारले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू तत्काल गरिरहेको जानकारी दिएका छन्। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिले सामान्य नभएको उल्लेख गर्दै उनले त्यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनअनुसार कारबाही हुने बताएका छन्।
उनले सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कारबाही हुने विश्वास दिलाएका छन्। साथै, आक्रोश, प्रतिशोध र उत्तेजनालाई त्यागेर सामाजिक सद्भाव, संयमता र आपसी सम्मान कायम राख्न सबै नागरिकसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले “मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, सरकारको पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्नु र पीडितलाई न्याय दिलाउनु हो” भन्दै सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएर छिट्टै परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन्।