साम्प्रदायिक तनावको राजनीतिक इफेक्ट- रविले बोलाए मधेशवादीसहित सर्वदलीय बैठक

  • प्रकाशित मिति : २०८३ श्रावण १३, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।



रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न राजनीतिक दलहरूबीच साझा धारणा र सन्देश आवश्यक भएकाले बैठक आयोजना गरिएको हो।

उनले प्रशासनले शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल गरिरहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वबाट पनि संयम, सद्भाव र सामाजिक एकताको पक्षमा संयुक्त अपिल जारी गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताए।

बैठकमा सुनसरी घटनापछि विकसित परिस्थितिबारे समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा भूमिका र आगामी कदमबारे छलफल हुने जनाइएको छ।