आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउँदै झारफुक तथा हेराई–मनाई गर्ने भन्दै एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–३ एरिचोकका करिब २४ वर्षीय समीर थापालाई बुधबार राति करिब ८ः३० बजे नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार थापाले झारफुक गर्ने बहानामा एक महिलामाथि अपशब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको आरोप छ। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लियो, घटनाबारे थप अनुसन्धान जारी
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा नौ सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।