सप्तरीको बोदेबरसाईन नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति सप्तरीको बैठकको निर्णयअनुसार बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।



कर्फ्यू क्षेत्रअन्तर्गत बोदेबरसाईन नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्गस्थित खडक पुलदेखि पश्चिमतर्फ प्रितमपुर चोक,उत्तरतर्फ नेंगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्र समेटिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेशको उल्लङ्घन हुने गरी कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।