आज साउन १५ गते देशभर नेपाली परम्पराअनुसार खीर खाएर मनाइँदैछ। वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिनलाई नेपाली समाजमा खीर खाने विशेष पर्वका रूपमा लिइन्छ।
असारभर धान रोपाइँ सम्पन्न गरेका कृषकले शक्ति र ऊर्जा प्राप्तिका लागि साउन १५ मा खीर खाने परम्परा रहिआएको विश्वास गरिन्छ। दूध, चामल, घिउ, चिनी तथा विभिन्न मरमसलाबाट तयार गरिने खीरलाई पौष्टिक र शुद्ध परिकार मानिन्छ।
यस अवसरमा परिवारका सदस्य एकै ठाउँमा भेला भएर खीर खाने, आपसी आत्मीयता साटासाट गर्ने तथा देशका विभिन्न स्थानमा सामूहिक रूपमा खीर पकाएर वितरण गर्ने कार्यक्रमसमेत आयोजना गरिएका छन्।