पाँचथरमा पहिरोको कहर : तेस्रो पटक प्रभावित भयो लक्ष्मी पेट्रोल पम्प

  • प्रकाशित मिति : २०८३ श्रावण १६, शनिबार
  • नेपाल टेल संवाददाता

लगातारको वर्षासँगै पाँचथरको फिदिम नगरपालिका–४ जोरसालस्थित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्स (लक्ष्मी पेट्रोल पम्प) फेरि पहिरोको चपेटामा परेको छ। शुक्रबार राति करिब ९ बजे माथिबाट झरेको पहिरोले कार्यालय भवन, इन्धन वितरण गर्ने मेसिन तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि पम्पबाट इन्धन बिक्री–वितरण पूर्ण रूपमा बन्द गरिएको छ।

पम्पका सञ्चालक गौरी भण्डारीका अनुसार पहिरोसँगै खसेका ठूला ढुङ्गाले इन्धन भण्डारण गरिएको ट्याङ्कीमाथिको भागसमेत पुरिएको छ। हाल पम्पमा तीन ट्याङ्करभन्दा बढी डिजेल र एक ट्याङ्करभन्दा बढी पेट्रोल मौज्दात रहेको उनले बताए।



ट्याङ्की सुरक्षित रहे–नरहेको र वास्तविक क्षतिको अवस्था भने प्राविधिक परीक्षणपछि मात्रै यकिन हुने भण्डारीको भनाइ छ। पहिरोका कारण कार्यालय भवन, भण्डारण क्षेत्र तथा पेट्रोल–डिजेल वितरण गर्ने मेसिनमा समेत क्षति पुगेकाले अर्को सूचना जारी नभएसम्म इन्धन बिक्री बन्द गरिएको उनले जानकारी दिए।

यो पम्पमा पहिरोले क्षति पुर्‍याएको तेस्रो घटना हो। यसअघि असारको अन्तिम साता र साउनको पहिलो सातामा पनि पहिरो झर्दा पम्प प्रभावित भएको थियो। लगातारको प्राकृतिक विपद्का कारण व्यवसाय सञ्चालन नै संकटमा परेको सञ्चालक भण्डारीले बताए।

उनका अनुसार सरकारी मापदण्डअनुसार निर्माण गरिएको पेट्रोल पम्प भए पनि माथिल्लो भिरबाट पटक–पटक पहिरो झर्ने समस्या समाधान हुन सकेको छैन। वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिम अझै कायम रहेको उनले बताए।

घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली परिचालन गरिएको छ। कार्यालयका प्रमुख डीएसपी अनिष कर्णका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। हाल क्षतिको विस्तृत विवरण सङ्कलन र जोखिम मूल्याङ्कनको काम भइरहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै पाँचथरका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।