नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव पाकिस्तानको ब्रोड पिक हिमालमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धारमा खटिएको टोलीले निम्सदाइको शव ५ हजार ७ सय मिटरको उचाइमा मृत अवस्थामा फेला पारेको हो।
घटनास्थलमा निम्सदाइसँगै थप तीनवटा शव पनि भेटिएको बताइएको छ। तर ती शवको पहिचान भने खुल्न बाँकी रहेको छ।
उद्धार टोलीले भेटिएका शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।
“उद्धार तथा शव संकलनको काम अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ। हामी सबैलाई आधिकारिक सूचनाका लागि धैर्य गर्न पुनः अनुरोध गर्दछौँ,” क्लबले भनेको छ।
बिहीबार ब्रोड पिकमा आएको हिमपहिरोमा परी निम्सदाइ सहित १० जना आरोही बेपत्ता भएका थिए। दुर्घटनामा नेपाली आरोही पुरबहादुर गुरुङसहित अन्य आरोहीहरूको पनि मृत्यु भएको जनाइएको छ।