ईपीएस आवेदनको चापले राहदानी विभागमा भीड, सार्वजनिक बिदामा पनि सेवा

  • प्रकाशित मिति : २०८३ श्रावण १७, आईतवार
  • नेपाल टेल संवाददाता

दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस) आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको अत्यधिक चाप बढेको छ। यही चाप व्यवस्थापन गर्न विभागले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा सञ्चालन गरेको छ।

विभागका अनुसार शनिबार र आइतबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी वितरण भइरहेको छ। यद्यपि, विभागमा पुगेका सेवाग्राहीले समयमा राहदानी नपाएको गुनासो गरेका छन्।



राहदानी विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार नयाँ प्रणालीको स्थिरीकरण, प्राविधिक समस्या र ईपीएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले सेवा प्रभावित भएको हो। उनका अनुसार राहदानी अभाव नभए पनि केही फाइलमा प्राविधिक त्रुटि र राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वय समस्याले ढिलाइ भएको छ।

विभागले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिनभित्र उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ। साथै, एसएमएस सेवा प्रदायकलाई भुक्तानीसम्बन्धी समस्याका कारण केही दिन सूचना नपुगेको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको विभागको दाबी छ।

हाल विभागले दैनिक करिब १,५०० राहदानी छपाइ गरी वितरण गरिरहेको छ। साउन १४ देखि २२ गतेसम्म दुई सिफ्टमा आवेदन र वितरण सेवा सञ्चालन गरिएको विभागले जनाएको छ। साथै, अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फाराम खुला गर्ने तयारी भइरहेको भन्दै अत्यावश्यक परेकाले मात्रै तत्काल आवेदन दिन विभागले आग्रह गरेको छ।