राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्यहरू व्यक्तिगत रूपमा हिन्दूवादी अभियन्ता हुन सक्ने र धार्मिक आस्था अनुसार अभियानमा सहभागी हुनु उनीहरूको संवैधानिक अधिकार भएको बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले हिन्दू सम्राट सेना र सरकारबीच भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। तर, त्यसलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको भन्दै उनले आलोचनाप्रति असन्तुष्टि जनाए।
झाका अनुसार कुनै पनि व्यक्तिले राजनीतिक दलको सदस्य हुनुका साथै आफ्नो धार्मिक आस्था र विश्वासअनुसार अभियानमा संलग्न हुन पाउने अधिकार राख्छ। उनले वार्तामा सहभागी भएकै कारण विवाद गर्नु उचित नहुने बताए।
उनले आन्दोलनलाई हिंसात्मक दिशामा लैजानुभन्दा संवाद र वार्तामार्फत समाधान खोज्नु सकारात्मक कदम भएको उल्लेख गर्दै रास्वपाका सदस्यकै पहलमा आन्दोलनकारीलाई वार्ताको टेबलसम्म ल्याउन सफल भएको दाबी गरे।
“हाम्रो पार्टीका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन्। त्यो उहाँहरूको व्यक्तिगत स्वतन्त्रता हो। आन्दोलनलाई तोडफोड, आगजनी र हिंसातर्फ लैजानुभन्दा वार्तामार्फत समाधान खोज्नु उचित हो,” उनले भने।
झाले कुनै राजनीतिक दलको सदस्य भएकै आधारमा व्यक्तिको धार्मिक आस्था वा सामाजिक भूमिकामाथि प्रश्न उठाउन नमिल्ने तर्क गरे। “रास्वपाको सदस्य भएकैले कोही आफ्नो धर्म मान्न नपाउने वा सरकारसँग वार्ता गर्न नपाउने भन्ने तर्क स्वीकार्य हुन सक्दैन,” उनले बताए।
उनका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे नौ घण्टा लामो वार्ता गरेको थियो। वार्ताका क्रममा आन्दोलनकारीका मागलाई संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले अध्ययन गरी आवश्यक छलफल गरिएको उनले जानकारी दिए।
झाले हिन्दू सम्राट सेनाले उठाएका सम्भावित र उचित मागबारे सरकारसँग थप छलफल हुने विश्वास व्यक्त गर्दै हिंसाभन्दा संवादमार्फत समस्या समाधान गर्नु नै सबैभन्दा उपयुक्त विकल्प भएको बताए।