अभिजीत दीपकेको चुनौती– ‘म कागजात देखाउन तयार छु, तपाईंका नेताले डिग्री देखाउँछन् ?’

  • प्रकाशित मिति : २०८३ श्रावण १८, सोमबार
  • नेपाल टेल संवाददाता

कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजीत दीपकेले आफ्नो छात्रवृत्ति (स्कलरसिप) पत्र र शैक्षिक ऋण (एजुकेसन लोन) सम्बन्धी कागजात सार्वजनिक गर्न आफू तयार रहेको बताएका छन्।

उनले भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताले आफूविरुद्ध सूचना अधिकार (आरटीआई) अन्तर्गत निवेदन दर्ता गरेको उल्लेख गर्दै आफ्नो शिक्षा कसरी पूरा गरे भनेर प्रश्न उठाइएको बताए।



दीपकेले भने, ‘मैले देखेँ कि एक जना भाजपा कार्यकर्ताले ममाथि आरटीआई दर्ता गरेका छन् र मैले आफ्नो शिक्षा कसरी पूरा गरेँ भनेर जान्न चाहेका छन्। म उनीहरूलाई सोध्न चाहन्छु– के तपाईंहरूका नेताहरूले पनि आफ्नो डिग्री देखाउनुहुन्छ?’

उनले थपे, ‘म आफ्नो छात्रवृत्ति पत्र र शैक्षिक ऋणसम्बन्धी सबै कागजात देखाउन तयार छु। तर के तपाईंहरूका नेताहरूले आफ्नो वास्तविक डिग्री देखाउनुहुन्छ? मलाई बुझ्न गाह्रो छ, यी मानिसहरूलाई शिक्षासँग यति धेरै समस्या किन छ?’

दीपकेले भने, ‘यदि सामान्य परिवारको एउटा युवक बोस्टन विश्वविद्यालयबाट पढेर फर्किएको छ भने त्यसले उनीहरूलाई किन समस्या भइरहेको छ? तपाईंहरू शिक्षाको विरोधमा किन हुनुहुन्छ?’

यसअघि शनिबार सूरतका आरटीआई अभियन्ता अमित तिवारीले अभिजीत दीपकेका बुवाको आर्थिक अवस्थाबारे छानबिन गर्न माग गर्दै सम्बन्धित निकायमा निवेदन दिएको दाबी गरेका थिए।