सुनकोशी नदीमा खसेको कारमा तीन जना सवार रहेको खुलेको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सडकबाट सुनकोशी नदीमा खसेको थियो। उक्त कारमा चालकसहित तीन जना रहेको खुलेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
कारमा सोही गाउँपालिका–५ बस्ने पुर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत बेपत्ता रहेको डिएसपी थापाले जानकारी दिएका छन्।
कारको नम्बर भने खुलेको छैन।
बिहान खोटाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसको ठक्कर दिएपछि कार सुनकोशीमा खसेको थियो।
यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
कार दुर्घनाको खबर प्राप्त भएपछि खोजीका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।
खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको डिएसपी थापाले जानकारी दिए।