लन्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’

  • प्रकाशित मिति : २०८३ भाद्र ७, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डनस्थित नेपाली दूतावासमा किताब यात्रा फाउन्डेसनको आयोजनामा शुक्रबार तेस्रो ‘किताब जात्रा’ सम्पन्न भएको छ। कार्यक्रममा पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा बेलायतका पूर्वसांसद वीरेन्द्र शर्माले नेपाली डायस्पोराले बेलायती समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्ने बताए। अन्य वक्ताले पनि प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पठन संस्कृतिको विकासमा जोड दिए।



‘डायस्पोरा नेपाली साहित्य : अवसर र चुनौती’ विषयक प्यानल छलफलमा डायस्पोराका नेपाली लेखकले भोगाइ र परिवेशलाई साहित्यमा अभिलेखीकरण गर्दै नेपाली साहित्यलाई समृद्ध बनाइरहेको चर्चा भयो। साथै, नयाँ पुस्तामा नेपाली भाषा पढ्ने–लेख्ने क्षमता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरियो।

कार्यक्रममा रविन्द्रजंग लामिछाने, कुल आचार्य, लेक्स लिम्बू, डा. संगीता स्वेच्छा र भगीरथ योगीलाई विभिन्न विधाका ‘किताब जात्रा अवार्ड’ प्रदान गरियो।

कविता तथा सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा नेपाली साहित्यिक प्रकाशन, हस्तकला र घरेलु उत्पादनहरू पनि प्रदर्शन गरिएको थियो। किताब जात्रा निर्देशक ऋषिराम अधिकारीले आगामी दिनमा साउदी अरेबिया, कतारलगायत युरोपका विभिन्न देशमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए।