उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाना पकाउने ग्यास वितरणमा देखिएको असहजता केही दिनमै पूर्ण रूपमा समाधान हुने दाबी गरेकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्या समाधानको चरणमा रहेको बताइन्।
“हाल देखिएको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गर्दछु,” उनले भनिन्।
मन्त्री कुमारीले ग्यासको सहज र न्यायोचित वितरण सुनिश्चित गर्न वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारणलाई पहिचान गरी प्राथमिकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिइन्।
उनले ग्यास खरिदकर्ताको विवरण राख्न सबै डिलरलाई आग्रह गर्दै वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताइन्।