एनआरएनए १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा, ३५ देशबाट सहभागिता सुनिश्चित

  • प्रकाशित मिति : २०८३ श्रावण २४, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आगामी १० र ११ अगस्ट आयरल्याण्डको राजधानी डब्लिनमा हुने भएको छ ।

सम्मेलनको मुख्य भाव ‘संकल्प’ छ भने यसको सन्देश ‘United by Identity, Driven by Investment, Committed to Prosperity’ (पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता) छ।



यस वर्षको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए आइसीसी तथा एनसीसी पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

हालसम्म ३५ देशबाट २०० बढीको सहभागिता सुनिश्चित भएको छ भने कुल सहभागिता करिब २५० जनासम्म पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । साथै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंगा, एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र रहनेछन्। सम्मेलनले गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तिकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, ज्ञान–सीप तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय समन्वय परिषद एनसीसीहरुको सवलीकरण तथा अन्तरदेशीय विषयहरु र ‘संस्थागत रिब्रान्डिङ’ एनआरएनए लगायत विषयमा गहन छलफल गर्नेछ।

सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभरका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीसम्बन्धी साझा मार्गचित्र निर्माण गर्ने लक्ष्यसमेत लिएको छ।

आयोजकले सम्मेलनलाई गैरआवासीय नेपालीका अधिकार र सरोकारहरू नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, युरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भएको छ र एक लाखभन्दा बढी पञ्जीकृत सदस्य आबद्ध छन्।

एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन्।