बेलायतमा ‘झोल मोमो’को फास्ट फुड चेन, २०२६ भित्र १० आउटलेट खोल्ने लक्ष्य

  • प्रकाशित मिति : २०८३ श्रावण २५, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन । युवा उद्यमी विकास नेपाल र सुष्मा शर्माले बेलायतमा ‘द हिमालयन मोमो’ अन्तर्गत ‘झोल मोमो’ फास्ट फुड चेन सञ्चालनमा ल्याएका छन्। लन्डनको क्यामडेनबाट सुरु गरिएको यो ब्रान्ड फ्रेन्चाइज मोडलमार्फत विस्तार गर्ने तयारी छ।

शनिबार क्यामडेन टाउनस्थित बक्सपार्कमा रहेको आउटलेट बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले उद्घाटन गरे। उनले नेपाली मोमोलाई बेलायतमा प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गर्दै व्यवसायको सफलताको शुभकामना दिए।



कम्पनीका कार्यकारी निर्देशक विकास नेपालका अनुसार रेस्टुरेन्टभन्दा छिटो र सरल सेवा दिने अवधारणामा ‘झोल मोमो’ सञ्चालन गरिएको हो। आउटलेटमा मोमो, मसला चिया र कुल्फी उपलब्ध छन्। यी उत्पादनले बेलायतको प्रतिष्ठित ‘ग्रेट टेस्ट अवार्ड’ समेत जितिसकेका छन्।

कम्पनीले ५ देखि १० हजार पाउन्डको लगानीमा नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालन गर्न सकिने जनाएको छ। एक जनाले समेत सञ्चालन गर्न सक्ने गरी प्रणाली विकास गरिएको र कम्पनीले एक महिनाभित्र सेटअप तयार गरिदिने बताइएको छ।

क्यामडेनपछि अर्को महिना हेज र त्यसपछि टुटिङमा आउटलेट खोल्ने योजना छ। सन् २०२६ भित्र बेलायतमा १० वटा आउटलेट विस्तार गर्ने र त्यसपछि भारतमा समेत व्यवसाय लैजाने लक्ष्य कम्पनीको छ।

क्यामडेन आउटलेटका प्रबन्ध निर्देशक भूपेन्द्र बिष्टका अनुसार स्थानीय ग्राहक आकर्षित गर्न ‘झोल मोमो’को निःशुल्क स्याम्प्लिङसमेत गरिनेछ।