नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र देखिएको सामाजिक सञ्जालको बहसप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले कांग्रेस इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको तथा राष्ट्रियता र लोकतान्त्रिक संविधानसमेत सङ्कटमा परेको दाबी गर्दै अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन् ।
खड्काले पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्ने बताएका छन् ।
उनले पार्टी सभापति गगन थापालाई विशेष आग्रह गर्दै तत्काल पार्टी एकताका लागि अग्रसर हुन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा हुने दोहोरी, गालीगलौज र आरोप–प्रत्यारोपले पार्टी एकता बलियो नबनाउने भन्दै उनले सबै तहका नेता तथा कार्यकर्तालाई त्यस्तो प्रवृत्ति रोक्न अपिल गरेका छन् ।
खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टीको सम्पूर्ण एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्र रहे लोकतन्त्र र पार्टी रहने भन्दै उनले अहिलेको अवस्थामा व्यक्तिगत महत्त्वाकाङ्क्षा र अहङ्कारभन्दा पार्टी तथा राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
खड्काको भनाइ जस्ताकाे तस्तै
पार्टीका सबै अग्रज आदरणीय नेताहरू, पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहनुभएका सबै साथीहरू, भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहमा रहनुभएका साथीहरू, शुभेच्छुक तथा समर्थक आदरणीय दिदीबहिनी, दाजुभाइहरू सबैमा जयनेपाल ।
पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिका ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ ।
इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको अवस्था अनि काँग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजोर र प्रतिकूल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली काँग्रेसको सम्पूर्ण एकता हो ! यसका लागि हामीबीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो वर्तमान भीमकाय चुनौतीहरूको सामना गर्नका लागि !
यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महत्त्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध अनि कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढौँ ।
सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ !
पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ।
तर यहाँनिर स्पष्ट हुन जरुरी छ,
“निर्णायक तपाईं हो – तपाईं!”
पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लागि पार्टीका र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल ।
राष्ट्र रहे–बहुदलीय लोकतन्त्र रहन्छ–पार्टी रहन्छ–अनि त्यसमा हामी रहने ठाउँ रहन्छ, नभए
– सबै खरानी हुन्छ– हामी सबैमा हेक्का रहोस् ।
सामाजिक सञ्जालको दोहोरी र गालीगलौजले कहीँ पुगिँदैन। यो प्रवृत्ति सबै लागेर बन्द गरौँ।