जाजरकोटमा अविरल वर्षापछि गएको पहिरोमा परी सात जना घाइते भएका छन्। भेरी नगरपालिका–२ रिसाङमा शनिबार अपराह्न पहिरो जाँदा एक कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घाइतेमध्ये करिब ६० वर्षीय रामबहादुर शाही र ५७ वर्षीया भद्रावली कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शाहीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
पहिरोमा ४५ वर्षीय सिद्दीबहादुर कामी, ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतिकला विक पनि घाइते भएका छन्।
यस्तै, भेरी नगरपालिका–३ स्यालामा पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जना परिवार आफन्तको घरमा आश्रय लिएका छन्। दुई वटा अस्थायी टहरा पनि पहिरोले भत्काएको प्रहरीले जनाएको छ।
उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएकाले सुरक्षाकर्मी पैदलै घटनास्थल पुगेका छन्। थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।