यी सात स्थानबाट पाइने छ ग्यास, हेर्नुस् सूची

काठमाडौंमा ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

बजारमा खाना पकाउने ग्यासको अभाव झेल्दै आएका उपभोक्ताका लागि राहत स्वरूप नेपाल आयल निगम लिमिटेड र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त समन्वयमा विशेष व्यवस्थासहित ग्यास सिलिन्डर बिक्री वितरण हुने भएको छ ।

सम्बन्धित ग्यास उद्योगहरूसँगको सहकार्यमा तोकिएका विभिन्न सात स्थलहरूबाट सहज रूपमा इन्धन उपलब्ध गराउने तयारी पूरा भएको छ ।



विक्रेताहरूबाट समयमै ग्यास पाउन नसकी चरम अभावमा परेका तथा अति आवश्यक रहेका उपभोक्ताहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य साथमा लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।

निगमले एल.पी. ग्यासको आयात नियमित रूपमा भइरहेको स्पष्ट पार्दै सम्बन्धित उद्योगहरूलाई आफ्ना आधिकारिक विक्रेतामार्फत बजारमा सहज आपूर्ति मिलाउन निर्देशन दिएको छ ।

भोलि ग्यास बिक्री वितरण हुने मुख्य स्थानहरूमा नेपाल आयल निगमको टेकु परिसर रहेको छ जहाँ नेपाल, एचपि, एभरेष्ट, सुगम, श्रीराम र सागर ब्रान्डका सिलिन्डर पाइनेछन् ।

यसैगरी पशु सेवा शाखा, चपली, बुढानीलकण्ठमा नेपाल, एचपि र भानु ब्रान्ड उपलब्ध हुनेछन् भने राधास्वामी, कीर्तिपुर परिसरमा नेपाल, एचपि, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास राखिनेछन्।

यसबाहेक नयाँ बजार जुडो हल परिसरमा नेपाल, एचपि र ओम ब्रान्ड, तारकेश्वर नगरपालिकाको परिसरमा नेपाल र एचपि ब्रान्ड, तथा चन्द्रागिरी नगरपालिका कार्यालयमा लोकप्रिय, नेपाल, एचपि र श्रीमाया ब्रान्डका सिलिन्डरहरू बिक्री वितरण गरिनेछन् ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा नेपाल, एचपि, सूर्य, सागर, एभरेष्ट, सुगम र STC ब्रान्डका ग्यासहरू सहज रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।