नेपाली कांग्रेस फुट्दैन, नयाँ पार्टी खोल्ने पक्षमा म छैन : डा. शशाङ्क कोइराला

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । शनिबार संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको बताएका हुन्।

समय समयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने उल्लेख गर्दै नेता कोइरालाले आफू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ छ। उनले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबीसमेत गरे। परिस्थिति सोचेअनुरूप नभएमा थप छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताएका छन्।



यसैबिच, बहुमत भए तापनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै उनले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बिचमै मध्यावधि चुनावमा जाने सम्भावनालाई राजनीतिमा नकार्न सकिँदैन।’