हामीले मुद्दा दिएका छौँ त्यसको पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन : देउवा

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा ‘पार्टी एकता हुनुपर्छ’ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारसँगको कुराकानीमा उनले अब सर्वोच्च अदालतबाट न्याय भएपछि पार्टी मिल्ने बताए ।

देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताए । ‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ । विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन । त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौँ । त्यसको पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन । मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ । अनि पार्टी एकता हुन्छ,’ उनले भने ।



देउवाले आफूलाई सुदूरपश्चिम जान मन रहेको बताए । ‘सुदूरपश्चिममा जान मन छ । डडेलधुरा अझ जान मन छ । त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्, भेट्ने मन छ । देवीदेवताको दर्शन गर्ने मन छ,’ देउवाले भने ।

उनले आफूले सुदूरपश्चिमका लागि गर्नुपर्ने जति गर्न नसकेको बताए । ‘मैले सुदूरपश्चिममा जति गर्नुपर्ने हो, त्यति गर्न पाएको छैन । सुदूरपश्चिमले मलाई धेरै दिएको छ । डडेलधुरामा पनि मैले केही काम गर्न बाँकी छ । सबैले एयरपोर्ट बनाइदेउ–बनाइदेउ भन्या छन् । त्यो काम पनि पूरा गर्छु,’ देउवाले भने ।