रोल्पामा पहिरोबाट ५ दिनमा १८ जनाको मृत्यु

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

लुम्बिनी प्रदेशको रोल्पामा लगातारको वर्षापछि आएको पहिरोमा परी ५ दिनमा १८ जनाको मृत्यु भएको छ।

गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।



यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। एक जना अझै बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।