बाढी पूर्वानुमान महाशाखाले देशका २९ जिल्लाबाट बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पालगायत जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्न सक्नेछ।

यस्तै जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका साना नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि स्थानीय नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।