सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्न थालेको छ।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई निर्देशन दिएका छन्।
संसद् बैठकमा सुरुमा हाजिर भएर बीचमै बाहिरिने क्रम बढेको र यसले संसद्को गरिमा कमजोर पार्न सक्ने भन्दै हाजिरी विश्लेषण गर्न निर्देशन दिइएको हो। असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको हाजिरी विशेष रूपमा विश्लेषण गर्न भनिएको छ।
सत्तापक्षका सांसदहरूको न्यून उपस्थितिका कारण साउन २६ गते प्रतिनिधिसभाको बैठकसमेत प्रभावित भएको थियो। गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन। निर्णयका लागि कम्तीमा ६९ सांसद आवश्यक पर्नेमा त्यस दिन ६१ जना मात्रै उपस्थित थिए।
नेपालको संविधानको धारा ९४ अनुसार संसद्मा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न कुल सदस्य संख्याको कम्तीमा एकचौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले मुख्य सचेतकको निर्देशनअनुसार प्रत्येक दिनको हाजिरी विश्लेषण भइरहेको बताएका छन्। मुख्य सचेतक बुर्लाकोटीले प्रतिवेदन आएपछि न्यून उपस्थित हुने सांसदबारे आवश्यक कारबाही अघि बढाइने बताएका छन्।