प्रतिभा नक्षत्रको सातौं संस्करणमा नेपाली कला–संस्कृतिको झल्को

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन। बेलायतमा जन्मिएर हुर्किएका नेपाली बालबालिका तथा युवाले ‘प्रतिभा नक्षत्र’को सातौं संस्करणमार्फत नेपाली कला, संस्कृति, भाषा र परम्पराप्रतिको आफ्नो लगाव प्रस्तुत गरेका छन्।

लन्डनमा आयोजित कार्यक्रममा २५ बालबालिका तथा किशोरकिशोरीले नृत्य, गायन, वक्तृत्व, बाजागाजा र अन्य विधामार्फत प्रतिभा प्रस्तुत गरे। युवा विधामा ट्रिस्टा एमडी विजेता बन्दा विधि बुढाथोकी फस्ट रनरअप र अल्बर्ट गुरुङ सेकेन्ड रनरअप बने। बालबालिका विधामा शेष श्रेष्ठ विजेता तथा सारा गुरागाईं र अभिनव साउद क्रमशः फस्ट र सेकेन्ड रनरअप भए।



कार्यक्रम कुमारी जात्रा, धिमे तथा नौमती बाजासहित सुरु गरिएको थियो। सहभागीहरूले बुद्ध, सगरमाथा र नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए।

साउथ–इस्ट लन्डनको प्लमस्टेडस्थित ग्रीनविच रग्बी क्लबमा आयोजित कार्यक्रममा ‘प्रतिभा नक्षत्र गाउँ’ समेत निर्माण गरिएको थियो, जहाँ नेवारी, थारू र खस समुदायका मौलिक घर, नेपाली हस्तकला, परिकार, भेषभूषा र सांस्कृतिक सामग्री प्रदर्शन गरिएको थियो।

सन् २०१७ मा सुरु भएको प्रतिभा नक्षत्र डायस्पोरामा हुर्किएका नयाँ पुस्तालाई नेपाली कला–संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। यसपटक बेलायतसँगै आयरल्यान्ड, जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सबाट समेत सहभागिता रहेको आयोजकले जनाएको छ।