राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको १७ तले भवनबारे सरकारसँग स्पष्ट जानकारी माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न माग गरेका हुन्।
उनले भने, ‘भक्तपुर घुम्न जाँदा दरबार स्क्वायर भन्दा पहिला जो कोहीले राधे राधे चोकमा वर्षौँदेखि खण्डहर बनेर मौन उभिएको भवन देख्नुहुन्छ। निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल भवनले सबैलाई चकित बनाउँछ। कुरूप दृश्यले धेरैको ध्यान तान्छ, गिज्याउँछ। दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको यो परियोजना मुख्य संरचना बनेपछि किन रोकियो भन्ने प्रश्न आजसम्म अनुत्तरित छ।
परियोजना कानूनी प्रक्रियामा छ भने त्यसको अवस्था के हो? निर्माण रोकिएको कारण के हो? लगानीकर्ता र साझेदार को हुन्? यसको भविष्यबारे सरकारसँग के योजना छ? भन्दै सरकारलाई प्रश्न गरे।
उनले परियोजनाको कानूनी, आर्थिक, प्राविधिक अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न र सम्भव भए निर्माण पुनः सुरु गर्ने ठोस पहल गर्न माग गरे।