पूर्वाधारमन्त्री सुनील लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसद्मा सांसदहरूबीच विरोध र बचाउमा जुहारी नै चलेको छ ।
यो विषय सोमबार नै उठेको थियो । मंगलबार पनि सांसदहरूले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरिरहेका छन् ।
नेपाली कांग्रेसकी सचेतक बासना थापाले जनताले राहत नपाएको, सिटामोल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताइन् । ‘काठमाडौंको मिनिरल वाटर र जारको पानीका हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ । मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन’, उनले भनिन् ।
बैतडी पुगेका पूर्वाधारमन्त्री लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौंमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो ।
लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए । लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।
त्यसक्रममा बिरामी भएपछि काठमाडौं आएका हुन् । उनी हाल डिस्चार्ज भइसकेका छन् । यो विषयमा संसद्मा सांसदहरूले प्रश्न उठाएका हुन् ।
रास्वपाकी सचेतक थापाले यसमा जनताले एक सिलिण्डर ग्यास पाउन नसकेको लगायत विषय समेत जोडिन् । ‘सरकार कान खोलेर सुन्नुहोस् । मन्त्रीको जीवन जति मूल्यवान छ कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ’, उनले भनेकी छन्, ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने के यही समानता हो ? के यही हो जनताको सरकार ?’
एकातिर सरकारले एक्प्रेस वे को कुरा गर्ने अर्कोतिर कर्णालीम औषधि नपुग्ने अवस्था रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् ।
लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरतप्रसाद पराजुलीले मन्त्री लम्सार हेलिकप्टर चढेको विषयको बचाउ गरे ।
सुरुम उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई स्मरण गरे । ‘हामो देशमा केही गर्छु भन्ने मान्छेहरूको आलोचना हुन्छ । यही आलोचनाको सिकार वर्तमान सरकार पनि भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू यो देशको मुहार परिवर्तन गर्छु भनेर अहोरात्र खटेर काममा लागिराख्नुभएको छ । तर, चौतर्फी रुपमा उहाँकै आलोचना हुन्छ ।’
अनि मन्त्री लम्सालको विषय उठाए । ‘एउटा जिम्मेवार सरकारको प्रतिनिधिको हैसियतले माननीय सुनिल लम्साल मन्त्रीज्यू अहोरात्र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आफैं गाडी चलाएर यो वर्षातको समयमा देशको दुरदराज पुगेर त्यहाँको कनेक्टिभिटीका समस्याहरू के कस्ता छन्, जनताको समस्या कस्तो छ भनेर बुझ्न जानुभएको छ । कुनै रिवन काट्न होइन । तैपनि उहाँकै आलोचना हुन्छ ।’
रास्वपा सांसद पराजुलीले आलोचनाको खातिर आलोचना गर्न छाडेर राम्रो कामको लागि समर्थन गर्ने र नकारात्मक कामको आलोचना गर्ने संस्कृतिका लागि उनले आह्वान नै गरेका छन् ।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद पारसमणि गेलालले मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रुपमा घुम्न ननिस्कन आग्रह गरेका थिए । ‘माननीय मन्त्रीज्यूहरूलाई प्रश्न छ, तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ?! उनले भनेका थिए, ‘बिदामा घुम्न गए जस्तो गर्नु भन्दा मन्त्रालयमा बस्नुस् । नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस् ।’
देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र समाधानका उपाय समेत सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने उनले सुझाएका छन् । यसको लागि जम्बो सल्लाहार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको उनले बताए । अनि उनले जनताले के चहिरहेका छन् भनेर ख्याल गर्न आग्रह गरे । ‘आज जनता ग्यास, मल, संचार सेवा, विद्युत, आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्’ उनले भने ।
तर, मन्त्रीहरूको व्यवहर यसअनुसार नरहेको भनेर प्रश्न गरे । ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ । तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन् ।’ सांसद गेललाले भनेका थिए ।
यो विषयमा मंगलबार पनि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन् ।