कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। बुधबार भएको मतदानमा उनले २१ मत पक्षमा, १३ विपक्षमा र २ मत तटस्थ पाए।
४० सदस्यीय प्रदेश सभामा ३६ सांसद उपस्थित थिए। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने कर्णालीमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टीका १४ र एमालेका १० सांसद छन्।
एमालेको समर्थनमा १२ साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले नियुक्तिको २३औँ दिनमा विश्वासको मत लिएका हुन्। तीन सातासम्म मन्त्रिपरिषद् विस्तार नगरी एक्लै सरकार सञ्चालन गरेका शाहीले विश्वासको मत पाएपछि अब सरकार विस्तारको बाटो खुलेको छ।
विश्वासको मतअघि नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ। सहमतिअनुसार दुवै दलले मन्त्रालय लिनेछन् र बुधबारदेखि नै केही मन्त्री नियुक्त गर्ने तयारी छ।