लन्डनस्थित नेपाली दूतावास परिसरमा ३ फिट अग्लो सुनौलो बुद्ध प्रतिमा स्थापना गरिने भएको छ। एनआरएनए आईसीसीको ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’ अन्तर्गत एनआरएनए एनसीसी यूके र बुद्ध फाउन्डेसन यूकेको सहकार्यमा प्रतिमा राख्न लागिएको हो।
प्रतिमा २९ अगस्ट २०२६ मा विशेष समारोहबीच स्थापना गरिनेछ। यसले बुद्धको जन्मभूमि नेपाल, लुम्बिनी तथा शान्ति, करुणा र अहिंसाको सन्देशलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
अभियानअन्तर्गत यस वर्ष विभिन्न देशका नेपाली कूटनीतिक नियोगमा ११ वटा बुद्ध प्रतिमा स्थापना गर्ने योजना रहेको आयोजकले जनाएको छ। पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासमा पनि प्रतिमा स्थापना गर्ने तयारी छ।
यस्तै, अस्ट्रेलियाको भिक्टोरियास्थित The Great Stupa of Universal Compassion मा करिब ६.२ फिट अग्लो र १६० केजी तौलको बुद्ध प्रतिमा स्थापना गर्ने योजना अघि बढाइएको छ।
आयोजकका अनुसार यो अभियान बुद्ध प्रतिमा स्थापनामा मात्र सीमित नभई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र नेपालको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने पहल हो।