रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन् । युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने बताए ।
यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन सङ्कटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ । बेलायतले द्वन्द्वमा आफ्नो सङ्लग्नता जारी राखे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ ।
युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामलाई समेत निशाना बनाउँदै आएको छ ।