देशभर ९७.४८ प्रतिशत रोपाइँ सकियो, यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा

  • प्रकाशित मिति : २०८३ भाद्र ४, बिहीबार
  • नेपाल टेल संवाददाता

यस वर्ष देशभर धान रोपाइँ करिब सकिएको छ। कृषि विभागका अनुसार २९ साउनसम्म १३ लाख ३५ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो। यो कुल रोपाइँ हुने क्षेत्रफलको ९७.४८ प्रतिशत हो।

देशभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेको छ। गत वर्ष १ भदौसम्म ९४ प्रतिशत मात्रै रोपाइँ भएकोमा यस वर्ष करिब ३० हजार ५ सय हेक्टर बढी क्षेत्रमा धान रोपिएको विभागको तथ्यांक छ।



प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ। कर्णालीमा ९७.७९, बागमतीमा ९७.८२, कोशीमा ९७, गण्डकीमा ९६.६८, मधेशमा ९६.६ र लुम्बिनीमा ९७.८७ प्रतिशत रोपाइँ भएको छ।

गत वर्षको तुलनामा रोपाइँमा सबैभन्दा ठूलो सुधार मधेशमा देखिएको छ। गत वर्ष यही अवधिमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको मधेशमा यस वर्ष ९६.६ प्रतिशत पुगेको हो। पछिल्लो समय भएको वर्षाका कारण मधेशमा रोपाइँले गति लिएको कृषि विभागले जनाएको छ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले केही बाँकी तथ्यांक आएपछि रोपाइँ ९८ प्रतिशतसम्म पुग्न सक्ने बताए। उनका अनुसार समयमै रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको छ।

तर, किसानले भने रोपाइँ सकिए पनि मलको अभाव कायमै रहेको बताएका छन्। राष्ट्रिय कृषक समूहका कोषाध्यक्ष शशिराम आचार्यले धानमा मल हाल्ने समयमै पर्याप्त मल उपलब्ध नहुँदा उत्पादन प्रभावित हुन सक्ने बताए।

आर्थिक वर्ष २०८२/८३ मा नेपालको धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार १ सय २६ टनमा सीमित भएको थियो। अघिल्लो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको थियो।

यस वर्ष रोपाइँ समयमै सकिएकाले उत्पादन बढ्ने सम्भावना देखिए पनि बाढी, रोग–कीरा तथा मौसमजन्य क्षतिले अन्तिम उत्पादनमा प्रभाव पार्न सक्ने कृषि विज्ञहरूको भनाइ छ। त्यसैले अहिले नै उत्पादनको यकिन अनुमान गर्न भने हतार हुने उनीहरूले बताएका छन्।