विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ ।
लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेंगी, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्छन् ।
नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए ।
पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम उच्च हुँदै गएको छ ।
विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको जनाएको छ ।
कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ ।