प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार बिहान पोखरातर्फ लागे पनि उनको भ्रमणबारे सुरक्षा निकाय र पार्टी नेतृत्वमै स्पष्ट जानकारी छैन। कास्की र मुस्ताङ प्रहरीले प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक सूचना नआएको जनाएको छ।
स्रोतका अनुसार शाह दिउँसो पोखरा पुगेर कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा बस्ने तयारीमा छन्। तर मुस्ताङ जाने वा नजाने, भ्रमण निजी हो कि सरकारी र उद्देश्य के हो भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
रास्वपाको बैठककै दिन पोखरा
शाह पोखरा जाने दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय प्रमुख मनोनयनलगायत महत्वपूर्ण संगठनात्मक निर्णय गर्ने तयारी गरेको छ।
तर पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता शाह बैठकमा सहभागी नहुने भएका छन्। रास्वपा कास्की नेतृत्वले समेत प्रधानमन्त्रीको पोखरा भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ।
सुरक्षा निकाय, पार्टी नेतृत्व र सर्वसाधारणलाई समेत भ्रमणको उद्देश्यबारे स्पष्ट जानकारी नहुँदा प्रधानमन्त्रीको पोखरा–मुस्ताङ यात्रा अहिले राजनीतिक चासो र प्रश्नको विषय बनेको छ।