१७औँ नेपाली मेलाको तयारी पूरा

  • प्रकाशित मिति : २०८३ भाद्र ९, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन — आगामी ३० अगस्ट आइतबार आयोजना हुने १७औँ नेपाली मेलाको तयारी पूरा भएको आयोजक तमुधिं यूकेले जनाएको छ।

तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी दिएको हो। नेपाली दूतावास लन्डनको सहकार्यमा मेला केम्प्टन पार्क रेसकोर्समा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।



मेला संयोजक तथा उपाध्यक्ष कमल कोने गुरुङका अनुसार मेलामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा र रहनसहन झल्काउने झाँकी, गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। लाखे, मारुनीलगायतका सांस्कृतिक प्रस्तुति मेलाका प्रमुख आकर्षण हुनेछन्।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित आयोजना हुने मेलामा ४२ नेपाली संघसंस्थाले सहभागिता जनाउने आयोजकले जनाएको छ। झाँकी तथा नृत्य प्रतियोगितामा विभिन्न संस्थाको सहभागिता रहनेछ।

मेलाको औपचारिक उद्घाटन बिहान ११ः२० बजे हुनेछ। प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी सहभागी हुनेछन्। अन्य नेपाली तथा विदेशी कूटनीतिक प्रतिनिधिको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताको एम्बासडर कपको पुरस्कार राशि बढाएर १ हजार ५ सय पाउन्ड पुर्‍याइएको छ। प्रथम र द्वितीय रनरअपले क्रमशः ७ सय र ५ सय पाउन्ड प्राप्त गर्नेछन्। त्यस्तै, एनआरएनए कपको पुरस्कार राशि ३ सयबाट बढाएर ५ सय पाउन्ड पुर्‍याइएको छ।

मेलामा नेपाली खाना, पोशाक, मौलिक सामग्री, व्यापार, सेवा तथा च्यारिटीका गरी करिब ७५ वटा स्टल रहनेछन्। स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

संयोजक गुरुङका अनुसार मेलाको अनुमानित खर्च करिब ६१ हजार पाउन्ड र आम्दानी करिब ६४ हजार पाउन्ड रहनेछ। प्रवेश शुल्क वयस्कका लागि ५ पाउन्ड तोकिएको छ भने बालबालिका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार पार्किङ शुल्क ५ पाउन्ड र कोच/बस पार्किङ शुल्क १० पाउन्ड निर्धारण गरिएको छ। पार्किङमा करिब १ हजार १ सय कार अट्ने क्षमता रहेको र कार्डमार्फत भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ।

तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले मेलालाई सफल बनाउन सञ्चारकर्मी तथा समुदाय सबैलाई सहयोग गर्न आग्रह गरे। यस वर्ष कार प्रवेशद्वार र पार्किङ क्षमता बढाइएकाले आगन्तुकलाई सहज हुने उनले बताए।

पत्रकार सम्मेलन महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा संस्थाका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।

सो अवसरमा तमुधिं यूकेले नेपालबाट आएका समाजसेवी तथा कलाकार, अल्डरसटबाट निर्वाचित काउन्सिलर उत्तरबहादुर गुरुङ, आमा समूहकी संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार हर्कबहादुर गुरुङलगायतलाई सम्मान गरेको थियो।

अध्यक्ष गुरुङले एभरेस्ट म्याराथन पूरा गरेर फर्किएका क्याप्टेन लक्ष्यबहादुर गुरुङको अभियानमा सहयोग गर्न पनि आग्रह गरे। तमुधिं यूकेले आगामी ११ र १२ सेप्टेम्बरमा १०० किलोमिटर वाक तथा रन आयोजना गर्न लागेको जानकारीसमेत कार्यक्रममा दिइयो।