भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोट जिल्लाको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट भएको क्षतिको प्रारम्भिक आँकलनसमेत गर्न कठिन भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन्।
रेग्मीका अनुसार भोटेकोशीतर्फबाट आएको अत्यधिक ठूलो बाढीले तटीय क्षेत्रमा ठूलो मानवीय क्षति पुर्याएको छ। उद्धार कार्यलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय तथा स्थानीय प्रशासन परिचालन भइरहेको उनले बताए।
“इतिहासकै ठूलो क्षति भएको छ। यति भयो भन्ने अवस्था नै छैन। हामी उद्धारमा जुटेका छौँ,” प्रजिअ रेग्मीले भने।
उनका अनुसार बाढीबाट ठूलो संख्यामा मानवीय क्षति भएको छ भने भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ। तर हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।
“धेरै ठूलो मानवीय क्षति भयो। भौतिक क्षतिको त कुरै नगरौँ। क्षतिको एकिन विवरण आइसकेको छैन। हामी यसमै लागिरहेका छौँ,” उनले भने।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम जारी रहेको प्रशासनले जनाएको छ। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण आउन बाँकी छ।