रसुवा बाढी : ९ वटा बैंकका शाखा कार्यालयमा क्षति, आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् ।

बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।



‘बाढी गएको क्षेत्रमा बैंकहरुका ९ वटा शाखा रहेका थिए । ती सबै शाखामा क्षति पुगेको अनुमान गरिएको छ’, उनले भने, ‘त्यहाँ सम्पर्क हुन नसकेका कारण क्षतिको विवरणका संकलन गर्न नै समस्या भएको छ ।’

उनका अनुसार ती बैंकका कार्यालयमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । केही कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी गराएको अध्यक्ष कोइरालाले बताए ।

त्यस क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक लगायतका शाखा कार्यालयहरू रहेका थिए ।

क्षतिग्रस्त शाखाहरूको यकिन क्षति विवरण संकलन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । सुरक्षा निकायसँग समन्वय गरी आफ्ना कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन उनीहरूको आग्रह छ ।