भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो ।
बाढीका कारण नदीको बहाव बढेको तथा सडकखण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रमा सवारीसाधन तथा यात्रुको आवतजावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।
भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।