भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण पत्ता लगाउन नेपालले चिनियाँ पक्षसँग समन्वय थालेको छ। बाढीको मुख्य कारणबारे अहिलेसम्म यकिन हुन नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार भोटेकोशीको जलाधार क्षेत्र चीनको तिब्बतसँग समेत जोडिएकाले बाढीको कारण पहिचान गर्न चिनियाँ पक्षसँग आवश्यक समन्वय भइरहेको छ।
प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङले बाढीको वास्तविक कारण पत्ता लगाउन स्याटेलाइट तस्वीरमार्फत अध्ययन गर्ने तयारी भइरहेको बताइन्। घटनाको विस्तृत अध्ययनका लागि चीनसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका निकायसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिइन्।
“यो नेपालको नदीसँग मात्र सम्बन्धित विषय होइन, चीनसँग जोडिएको विषय भएकाले चीनसँगै समन्वय गरेर कारणको खोजी गरिरहेका छौँ,” चेम्जोङले भनिन्।
उनका अनुसार स्याटेलाइट तस्वीर र अन्य प्राविधिक अध्ययनबाट थप तथ्य प्राप्त नभएसम्म बाढीको ठोस कारण यही हो भनेर निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
“स्याटेलाइटबाट अध्ययन नगरी अहिले नै बाढीको ठोस कारण यही हो भनेर भन्न सकिने अवस्था छैन,” उनले भनिन्।
यसैबीच, मौसमविद्हरूका अनुसार रसुवा क्षेत्रमा मंगलबार साँझदेखि असाधारण रूपमा ठूलो वर्षा भएको देखिएको छैन। त्यसैले सामान्य वर्षाका कारण मात्रै भोटेकोशीमा यति ठूलो बाढी आएको हो वा नदीको बहाव एक्कासि बढ्नुको अन्य कुनै कारण छ भन्ने विषयमा थप अध्ययन भइरहेको छ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार भोटेकोशीको जलाधार क्षेत्र चीनको तिब्बतसम्म फैलिएको भएकाले त्यहाँ हिमपहिरो, हिमताल फुट्ने घटना वा अन्य कुनै प्राकृतिक कारणले नदीको बहाव अचानक बढेको हुनसक्ने सम्भावना छ।
बाढीको वास्तविक कारण पहिचान गर्न नेपाल र चिनियाँ पक्षबाट प्राप्त हुने विवरण, स्याटेलाइट तस्वीर तथा प्राविधिक अध्ययनलाई आधार बनाइने प्राधिकरणले जनाएको छ।