रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले बुधबार राति ११ः०५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढी प्रहरी चौकीका ९ जनामध्ये एक, स्यार्पुबेंसीका ८ जनामध्ये पाँच, मैलुङका ८ जनामध्ये तीन, बेत्रावतीका १० जनामध्ये नौ र हाकुका ६ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् ।



बाढीपछि विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जना रहेका छन् ।

त्यस्तै, बाढी तथा अन्य घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा चार, वीर अस्पतालमा तीन, वीरेन्द्र सैनिक अस्पतालमा एक, ग्रिन सिटी अस्पतालमा एक, नर्भिक अस्पतालमा तीन र त्रिशूली अस्पतालमा नौ जना उपचाररत छन् ।

प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना कर्मचारीको खोजी तथा उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ ।