विपद्का बेला भ्रम फैलाउनेदेखि `सुन लुछ्ने´ सम्म प्रहरीको नोटिसमा

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

बाढीपश्चात भइरहेका अस्वाभाविक, गैरकानुनी एवं अमानवीय गतिविधि प्रहरीले ‘नोटिस’ मा राखेको बताएको छ । प्रचलित कानुन, सामाजिक र सांस्कृतिक मर्यादाविपरीतका त्यस्ता क्रियाकलाप क्षम्य नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन् ।

बाढीले बगाएको एउटा शवबाट सुन लुछेको भिडिओ क्लिप भाइरल छ । बुधबार अपराह्न बाढी चितवनस्थित नारायणी नदीमा पुग्दा ग्यास सिलिण्डर खोसाखोसको दृश्य पनि भाइरल छ ।



प्रहरी प्रवक्ता काफ्लेका अनुसार शवबाट सुन लुछ्ने र सिलिण्डर तान्ने मानिसहरू केन्द्रीय प्रहरीको जानकारी (नोटिस) मा आइसकेका छन् । अहिले घाइतेको उद्धार, उपचार र मृतकको शव पहिचानजस्ता काममा प्रहरी केन्द्रित भएको भन्दै उनले प्राथमिक चरणका काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारवाही गर्ने तयारी रहेको बताए ।

‘कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छूट पाउने छैन’, उनले भने ।

यससँगै विपद्का समयमा भ्रमपूर्ण खबर फैलाउने, जनजीवनलाई भय र त्रासमा पार्ने एवं भ्यूज बटुल्ने उद्देश्यका साथ भयावह दृश्यहरु प्रशारित गर्ने कार्यलाई पनि प्रहरीले जानकारीमा राखिरहेको उनले बताए ।

‘मिस इन्फर्मेशन-डिसइन्फर्मेशनदेखि भाइरल हुन विभत्स दृश्य अपलोड गरिएका सबै कुरा हामीले बुझिराखेका छौँ’, उनले भने ।