नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए। उनले भने, ‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।’
सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहले आफ्ना नियमित दलीय गतिविधि गर्न पाउने भएको छ। सर्वोच्चले पुनरवलोकनको निवेदनको रोहमा जस्तोसुकै आदेश हुने भए पनि अहिले अन्तरिम आदेश नहुने भनेको हो।
देउवा-खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको छ। सभापति गगन थापा नेतृत्वले भने आगामी असोज १६-१९ गते १५औं महाधिवेशन गर्ने गरी गतिविधि अघि बढाइसकेको छ।