बाढीको वितण्डा : राति नाै वजेसम्म ३८९ शव फेला, ४६६ को उद्धार

  • प्रकाशित मिति : २०८३ भाद्र १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी छ । नेपाल प्रहरीले राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३८९ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी (पूर्व) मा ८७ र नवलपरासी (पश्चिम) मा २७ वटा रहेका छन् । अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।



त्यस्तै, बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ४६६ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीनहरूको खोजी, घाइतेको उद्धार र राहत कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन् ।