प्रधानमन्त्री राहत कोषका नाममा ठगी गरेपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बाढीपीडितको नाममा सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएर ठगी गरेपछि रामेछाप गोकुलगंगा गाउँपालिका–२ का ३२ वर्षीय भगवान् कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी कार्यालय रामेछापका अनुसार उनले एक लाख २० हजार सहयोग गरेको भन्दै भौचर सार्वजनिक गरेका थिए । तर उनले सार्वजनिक गरेको भौचर च्याटजीपीटीबाट बनाएको पाइएको छ । यही नक्कली स्टेटमेन्टको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै कार्कीले आफूले पनि सहयोग गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा आफ्नै क्युआर कोडसमेत सार्वजनिक गरेका थिए । सोही क्युआर कोडको नाममा उनले ठगी गरेको प्रहरीको भनाइ छ ।
उनी रास्वपाका गोकुलगंगा कार्यसमितिको सहसचिव भएको एक स्थानीय नेताले जानकारी दिए । उनले रास्वपाको स्थानीय तह निर्वाचन २०८४ को लागि क्यान्डिडेट क्लबमा सहभागिता जनाउन पोस्टर सार्वजनिक गरेका थिए ।
तर आफ्नै ठाउँमा ठूलो रकम सहयोग गरेको प्रचार गरेपछि उनी पार्टीभित्रैका नेताको सूचनाको आधारमा पक्राउ परेको एक नेताले जानकारी दिए । उनी शनिबार राति पक्राउ गरेका हुन् ।